त्रिभूवन विश्वविद्यालय (त्रिवि) र लोक सेवा आयोगका सम्पूर्ण परीक्षा स्थगित भएका छन् ।
विद्यार्थी, कर्मचारीलगायतमा कोरोना संक्रमण देखिन थालेपछि बिहीबार सूचना जारी गर्दै त्रिवि र लोक सेवाले सम्पूर्ण परीक्षा स्थगित भएको जनाएका छन् ।
त्रिविले माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको छ भने लोक सेवा आयोगले माघ ११ गतेदेखि माघ मसान्तसम्मका परीक्षा स्थगित भएको जनाएको छ ।
आयोगको बिहीबार बसेको बैठकले बढ्दो कोरोना भाइरस संक्रमणका कारण सो निर्णय गरेको आयोगका प्रवक्ता तोयानारायण सुवेदीले जानकारी दिए । आयोगले माघ महिनामा उपसचिव प्राविधिक, स्वास्थ्य नवौ तह, संगठित संस्था (नेपाल प्रहरी, नेपाली सेना र नेपाल विद्युत प्राधिकरण) का लिखित परीक्षा तय गरेको थियो ।
माघ मसान्तसम्मका लागि सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरिएपनि अन्तर्वार्ता र नियमित काम भने सञ्चालन हुनेछन् ।
बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना नभएमा परीक्षा स्थगित गर्न निर्देशन दिएका थिए ।
हेर्नुस्, सूचनाः