पर्सा प्रहरीले वीरगन्जको इदगाह चोकबाट गए राति ३० लाख मूल्य भन्दा बढीको भन्सार छली ल्याएको खुद्रा सामान बोकेको ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको छ ।
वीरगन्जबाट भन्सार छली विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू लोड गरी काठमाडौँ तर्फ लैजान लागेको अवस्थामा गए राति जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इदगाह चोक स्थित सडकखण्डबाट ना ३ ख ५६७१ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
ट्रक पक्राउ परेसँगै चेकजाँचको क्रममा भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू फेला परेको पछि ट्रकका चालक पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका वडा नम्बर १ बस्ने ४५ वर्षीय लालाबाबु महरालाई नियन्त्रण लिई ट्रक सहित सामानको ३० लाख मूल्याङ्कन गरी थप कारबाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताए ।