पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
१८ हजार ६१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ८१५ जना र चार हजार ४७४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ८८८९ जना गरी पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
विगत दुई सातादेखि नेपालमा कोभिड–१९ निरन्तर बढिरहेको छ र १०,००० भन्दा बढी सङ्क्रमण पुष्टि भएको शुक्रवार लगातार चौथो दिन हो ।
पछिल्लो २४ घण्टामा ७६६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.४ प्रतिशत रहेको जनाएको छ ।
सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मुलुकमा हालसम्म ६५ हजार ३७४ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ३०,६८८ जना काठमाडौंमा, ७,१४५ जना ललितपुरमा र ४,२२३ जना भक्तपुरमा छन् ।
विगत २४ घण्टामा काठमाडौंमा ४,२७९ जना, ललितपुरमा ५६७ र भक्तपुरमा ४५६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । त्यस्तै मोरङमा ६४६ जना, सुनसरीमा ३३२ जना, झापामा २७६ जना, कास्कीमा २५४ जना र रुपन्देहीमा २७२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
अहिले आईसीयूमा १९४ जना र भेन्टिलेटरमा ३५ जना बिरामी भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा तीन लाख सात हजार ४०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।