सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार तीन सय ९३ पुगेको छ । पछिल्लो समय कोरोना संक्रमित वृद्धि ग्राफ निरन्तर उकालो लागेसंगै प्रदेशमा सक्रिय संक्रमितको संख्या बढेको हो ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर विधिबाट परीक्षण गरिएका एक हजार चार सय र एन्टिजेन विधिबाट परीक्षण गरिएका एक हजार ९९३ पुगेका छन् ।
शुक्रबारमात्रै प्रदेशभरि ५६५ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २५० जनाको परीक्षण गर्दा ५६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अर्थात जम्मा परीक्षण गरिएकोमध्ये २५.११ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारमात्रै प्रदेशभरि ५३४ जना संक्रमित थपिएका थिए ।
संक्रमण पुष्टि भएकामध्ये १६८ जना व्यक्ति शुक्रबार नै भारतबाट फर्किएका हुन । उनीहरुको नाकामै परीक्षण गरिएको थियो । शुक्रबार एक हजार ५५४ जना व्यक्ति फर्किएका छन् ।
जसमध्ये गड्डाचौकी नाकाबाट फर्केका ७४, गौरीफन्टा नाकाबाट फर्केका ८७, झुलाघाट नाकाबाट फर्केका पाँच र पुलघाट नाकाबाट फर्केका दुई जनामा संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशभरि हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५३ हजार ११४ पुगेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।