प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको भनिएको सर्वदलीय बैठक आज नबस्ने भएको छ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेताहरूले आजका लागि सर्वदलीय बैठक बोलाएको बताएका थिए ।
तर, प्रधानमन्त्रीको सचिवालयले भने अहिलेसम्म सर्वदलीय बैठक नै नबोलाएको जानकारी दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आजको सर्वदलीय बैठक नै बोलाइएको थिएन ।
उनले भने, ‘आजको लागि सर्वदलीय बैठक नै बोलाइएको थिएन । कसले के प्रचार गर्यो थाहा भएन ।’ यसअघि देउवाले बोलाएको बैठकमा एमाले नजाने बताएको थियो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सर्वदलीय बैठक अलमल्याउनका लागि मात्र बोलाइएको भन्दै आफूहरू नजाने बताएका थिए ।