कोरोना भाइरसको तेस्रो लहर शुरू भएसँगै पहिलो पटक एकैदिन १६ जना संक्रमितको मृत्यु भएको छ भने १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २० हजार १८७ जनाको स्वाब परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको छ। शुक्रबार २३ हजार ९२ जनाको स्वाब परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना देखिएको थियो।
आज संक्रमण पुष्टि भएकामध्ये १४ हजार ४६२ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २१२ जनामा र ५ हजार ७२५ जनाको एन्जिटन परीक्षण गर्दा २ हजार ४२ जनामा कोरोना देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाले ज्यान गुमाएका छन्। शुक्रबार कोरोनाबाट तीन जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५१ पुगेको छ।
आज कोरोनाबाट ७०८ जना निको भएका छन्। निको हुनेको संख्या न्यून रहँदा सक्रिय संक्रमितको संख्या भने बढेको छ। शनिबारसम्म देशभर ७२ हजार ८६२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।