शनिबार सुदूरपश्चिम प्रदेशमा थप ३८८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार ३४४ नमुना परीक्षण गर्दा थप ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार २९९ नमुना पिसिआर गर्दा १८८ जना र एक हजार ४५ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय जनामा संक्रमण देखिएको हो । यस्तै २४ घण्टामा ३६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ११३ जनामा संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा ५२ जना, गड्डाचौकी नाकामा ४७ जना, झुलाघाट नाकामा पाँचजना, पुलघाट नाका दार्चुलामा ८ जना र जोलजिमी नाकामा एकजना गरी ११३ जनामा संक्रमण देखिएको हो ।
यस्तै २४ घण्टामा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का ५२ बर्षीय पुरुषको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।