नेपालमा सन् २०२१ मा पनि भ्रस्टाचारको अवस्था अघिल्लो वर्षकै रहेको पाइएको छ ।
ट्रान्परेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्ट्रचारसम्बन्धी विश्व प्रतिवेदनमा नेपाल अझै भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा रहेको उल्लेख छ ।
यस वर्ष नेपाललाई १०० मा ३३ अङ्क (११७ औं स्थान) दिइएको छ र गतवर्ष पनि नेपाल अंक ३३ (११७ औं स्थान) नै थियो ।
विगत १ वर्ष (सन् २०२०÷२१) मा विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा सीपीआई २०२१ मा नेपाललाई १०० मा ३३ अंक (११७ औं स्थान) दिइएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै छ । अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिन्छ ।’
अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बताए ।
सीपीआईले १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा मापन गरेको हो । यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क, फिनल्यान्ड र न्यूजिल्यान्ड कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने साउथ सुडान ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् ।