राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार हुने राष्ट्रिय सभा निर्वाचनमा अन्य दलका उम्मेदवारलाई मत नदिने निर्णय गरेको छ ।
मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारीहरुको बैठकले राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ मा पार्टीका उम्मेदवारहरुलाई मत दिन र अन्य प्रदेशमा मतदानमा सहभागी नहुन निर्देशन दिएको महामन्त्री भुवन पाठकले जानकारी दिए ।
प्रदेश १ मा राप्रपाले अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ ।
अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय राप्रपाले गरेको हो ।
राप्रपाका वागमती प्रदेशमा दुई प्रदेशसभा सदस्य र दुई जना गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष मतदाता छन् ।
कर्णालीमा एक प्रदेशसभा सदस्य छन् भने अन्य प्रदेशमा राप्रपाका मतदाता छैनन् ।