निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले जेठ ५ गते जनप्रतिनिधिको पदावधि सकिन लागेको भन्दै स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको हो ।
आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्थाबमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आग्रह गरिएको छ ।
सरकारलाई निर्वाचनको सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ ।
