पछिल्लो २४ घण्टामा १२ हजार ८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
१८ हजार १०३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ९ हजार ४३२ जना र ७ हजार ८०६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २ हजार ५७६ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ५२ प्रतिशतभन्दा बढीमा र एन्टिजन परीक्षणमा ३३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा तीन हजार ४० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ ।
सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६६९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा काठमाडौंमा ४,८७५ जना, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जना नयाँ सङ्क्रमित थपिएका छन् । तीबाहेक अरू पाँच जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।
यसैगरी, हाल देशभर ८८ हजार ९३४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
तीमध्ये ५६,८८२ काठमाडौं उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ । सक्रिय सङ्क्रमितमध्ये ४१,६३३ जना काठमाडौं, ९,६६८ जना ललितपुरमा र ५,५८१ जना भक्तपुरमा छन् ।
अहिले आईसीयूमा २४५ जना र भेन्टिलेटरमा ४४ जना बिरामी भएको मन्त्रालयले जनाएको छ ।
विगत दुई सातादेखि नेपालमा कोभिड–१९ सङ्क्रमण वृद्धि भइरहेको छ ।