सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारको नाममा अल्पकालीन अन्तरिक आदेश जारी भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
अधिवक्ता टीकाबहादुर कुँवरलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दर्ता गराएका थिए । उक्त रिटमा अन्तरिम आदेश माग गरिएकोमा आदेशबारे छलफलका लागि न्यायाधीश शर्माले माघ १७ गतेलाई पेशी तोकेका छन् ।
८८ हजार ट्याब्लेट सिटामोल वितरण
सरकारले काठमाडौं उपत्यकाका १६ अस्पतालमा ८८ हजार ट्याब्लेट पारा सिटामोल वितरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महाराजगञ्जस्थित शिक्षण अस्पताल, पाटन अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, सिभिल अस्पतालमा १० हजार, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ६ हजार र वीर अस्पतालमा ५ हजार सिटामोल दिइएको छ ।
त्यस्तै, परोपकार तथा स्त्री रोग अस्पतालमा पाँच हजार, महाराजगञ्जस्थित पुलीस अस्पतालमा पाँच हजार, वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा पाँच हजार, गंगालाल राष्ट्रिय मुटु सेन्टरमा दुई हजार, धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा दुई हजार, भक्तपुर अस्पतालमा पाँच हजार, भक्तपुर क्यान्सर अस्पतालमा दुई हजार, राष्ट्रिय आयुर्वेद तालिम तथा रिर्सच केन्द्रमा तीन हजार, आयुर्वेद अस्पताल नरदेवीमा दुई हजार गरेर ८८ हजार ट्याब्लेट वितरण गरेको हो ।