आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ ।
मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।
जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भारतीय नम्बरको गाडीको ठक्करबाट २ जनाको मृत्यु
वीरगञ्ज — बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो ।
कलैया–वीरगञ्ज सडक खण्डको कलैया–५ स्थित विजय आयल स्टोर अगाडि गएराति साढे ८ बजे भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कलैयाबाट वीरगञ्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
फरार स्कारपियो चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बस दुर्घटनामा ८ घाइते
बैतडी — ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ । पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना७ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिए । घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी रहेका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ ।
महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको छ । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।