जोर–बिजोर प्रणालीबारे जनगुनासो बढेपछि त्यसको समीक्षा गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हरूको बैठक बस्दैछ ।
त्यसबारे समीक्षा गर्न शुक्रबार उपत्यकाका सिडिओहरुको बैठक बस्न लागेको हो । उक्त बैठकले जोर–बिजोर प्रणाली कायम राख्ने–नराख्ने वा परिमार्जन गर्नेबारे निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षले बताए ।
गृह मन्त्रालयले पनि उपत्यकामा सञ्चालित सवारी साधनमा जोर–विजोर प्रणाली लागू गर्दा भीडभाड बढेको नागरिकको गुनासो आउन थालेको जनाएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले पनि केही दिनमा निर्णय परिमार्जन हुनसक्ने बताए ।
स्रोतका अनुसार सीसीएमसीसी र स्वास्थ्य मन्त्रालयसँग सुझाए लिएर यातायातको जोर–बिजोर हटाउने तयारीमा उपत्यकाका सिडिओ छन् ।
जनगुनासो
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको छ ।
जोर–विजोर प्रणाली लागू भएसँगै उपत्यकामा सञ्चालन भइरहेका सवारी साधनमा भिडभाड बढेको भन्दै त्यसलाई हटाउनुपर्ने माग सर्वसाधारण तथा यातायात व्यवसायीले गर्दै आएका छन् ।
जोर–बिजोर प्रणाली हुँदा कोरोना सङ्क्रमण नियन्त्रण नहुने भन्दै आलोचना समेत हुँदै आएको छ ।