नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।
बैठकमा स्थानीय तहको चुनावको मितिबारे छलफल हुनेछ । स्थानीय तहको चुनाव वैशाखमै गर्ने किन गठबन्धनमा आएको प्रस्तावअनुसार सार्ने भन्ने विषयमा कांंग्रेसभित्र दुई खाले मत छन् ।
त्यस्तै, बैठकमा बुधबार सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको समीक्षा, संसदको अवरोध हटाउनेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा सभापति देउवाले केन्द्रीय सम्पादन समिति गठन गर्ने बताइएको छ । केन्द्रीय समितिको आकार ठूलो भएको र कोरोना महामारीका कारण बैठक बस्न सम्भव नभएपछि देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् ।
विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् । महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिमा दोस्रो बढी मत पाउने स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार डाक्टर शेखर कोइराला केन्द्रीय सदस्य भएका हुन् ।
३३ जना सभापतिले मनोनित गर्न पाउने सुविधा छ । जसअनुसार १३ जना केन्द्रीय सदस्य मनोनीत भइसकेका छन् ।
महामन्त्री गगन थापासहितका नेताहरूले सभापति देउवालाई भेटेर भर्चुअल माध्यमबाट भए पनि बैठक राख्न माग गरेका थिए ।