सितलापुरका रउफ धोवीलाई सफारिस दिन अस्वीकार गर्ने शिवराज नगरपालिका–१० का वडाध्यक्ष मन्जु मिश्राविरुद्ध सात राजनीतिक दलले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल बहुजन पार्टी, जनमत पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै सफारिस दिन अस्वीकार गर्ने वडाध्यक्ष मिश्राविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
निर्वाचित जनप्रतिनिधिले नागरिकलाई सहज रुपमा सेवा सुविधा दिनुपर्नेमा बन्चित गराएको भन्दै विज्ञप्तिमा चार किल्ला सिफारिसका लागि धोवीलाई सिफारिस नदिइएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको उल्लेख गरिएको छ । धोवीलाई चार किल्ला सिफारिस दिनबाट वडाध्यक्ष मिश्रा पन्छिनु निन्दानीय, गैर राजनीतिक र गैर जिम्मेवार कार्य भएको ठहर उनीहरुको छ ।
कुनै राजनीतिक प्रतिशोध नराखेर यथाशिघ धोविलाई सिफारिस दिन माग गरिएको छ । धोवीलाई सिफारिस नदिइए कडा अन्दोलनमा उत्रने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
मिश्राले राजनीतिक प्रतिशोधको कारण आफुलाई चौकिल्ला सिफारिस नदिएको उक्त वडाको सितलापुरका रउफ धोवीले गुनासो छ । त्यसबारेमा नगरपालिका कार्यालय पुग्दा पनि कुनै सुनावाई नभएको उनले बताएका थिए ।
धोबीले आफ्नो नम्बरी जग्गामा सडक निर्माण गर्न खोज्दा सितलापुरका रामकिशोर कहार, साधु शरण कुर्मी र सुर्य प्रसाद कुर्मीविरुद्ध जिल्ला अदालतमा मुद्दा दिएका थिए ।
तर, अध्यक्ष मिश्राले भने नगरको योजना र कार्यकर्ताको विरोध गरेकोले धोबीलाई चार किल्ला सिफारिस नदिएको बताइन् । उनी भन्छन्, ‘धोवीलाई कुनै पनि हालतमा सिफारिस दिन्न ।’