अनलाइन जुवामा संलग्न ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ६६ पुरुष र ८ महिला रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरूलाई आइतबार बौद्दस्थित प्लटिङ नजिक रहेको दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टबाट पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
कोभिड–१९ को महामारीको अवस्थामा ठूलो संख्यामा मानिसहरु जम्मा भइर अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी बृत्त बौद्दबाट संयुक्त रुपमा प्रहरी टोली खटिएको थियो ।
सो क्रममा प्रहरीले छापामार्दा ७४ जनालाई उक्त खेलमा प्रयोग गरिने सामाग्री (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन र अक्षरेपी ६ लाख १९ हजार २५० रुपैयाँसमेत नियन्त्रणमा लिएको छ ।
घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त बौद्दबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसूर अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।