प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ ।
सत्तागठबन्धनका दलहरुबीच स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्ने सहमति जुटेको छ । त्यस्तै, एमसीसी पास गर्ने सहमति भएको बताइएको छ ।
एमसीसी पास गर्नका लागि आइतबारका लागि बोलाइएको बैठक माघ २६ गते बोलाइएको छ । उक्त बैठकमा एमसीसी पेश गर्ने तयारी सरकारको छ । तर, त्यसको सत्तारुढ दलभित्रै एकमत छैन ।
सत्तारुढ दल कांग्रेस, जसपा एमसीसी पास र माओवादी, नेकपा एस, जनमोर्चा संशोधन गरेर मात्रै एमसीसी पारित गर्नुपर्ने बताउँदै आएका छन् ।
देउवासँगको भेटमा प्रचण्डले एमसीसी पास गर्नका लागि पार्टीका नेतालाई मनाउने प्रयास गरिरहेको बताएको बालुवाटार स्रोतको दाबी छ । जवाफमा देउवाले एमसीसीबारे छिटो एकमत बनाउन आग्रह गरेका थिए ।
देउवा र प्रचण्ड सत्ता गठबन्धनमा समस्या नहुने गरी एमसीसी पारित गर्न सहमति भएको बताइएको छ ।
त्यस्तै, स्थानीय तहको निर्वाचन आउँदो जेठ मसान्तभित्र गर्न सत्ता गठबन्धनमा सहमति जुटेको अवस्थामा निर्वाचनका लागि ऐन संशोधन गर्ने तयारी विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।