हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरि सामान्य देखि पूर्ण बदली रहने र शनिवार देशभरि आंशिक देखि सामान्य बदली रहने देखिन्छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भागमा सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा र गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
बिहीबार पहाडी भूभाग तथा तराईका धेरै स्थानमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा बागमती र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।