नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको हुँदा जनताका सबै अपेक्षा पुरा हुन नसक्ने बताएका छन् ।
न्यूज एजेन्सी नेपालसँग बुधबार कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताए ।
कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनको भनाइ छ । जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने उनले उल्लेख गरे ।
कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घचाउने उनले बताए । त्यस्तै कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरु बनाउने दिर्शातर्फ अघि बढ्ने पनि महामन्त्री शर्माले बताए ।
‘कांग्रेसले निर्वाचनतर्फ जाँदै गर्दाखेरी दुईवटा कुरामा ध्यान दिनुपर्ने विषय छन्, केपी ओलीको ३ वर्षे सरकारको असफलता र त्यो सरकारले गरेका संविधानविपरीतका गतिविधिहरु, जनविरोधी गतिविधिलाई प्रहार गरेर जाने विषय त हुन्छ । तर हामी उत्तिकै के सजग छौँ भने हाम्रो पनि सरकारको एक वर्षको परफरमेन्सको बारेमा व्याख्या हुन्छ । हामी आफै पनि समीक्षा गरेर जान्छौँ’, उनले भने, ‘यसबीचमा जे कमजोरी सरकारको भएका छन्, त्यसलाई कसरी करेक्सन गर्न सकिन्छ, सरकारलाई कार्य सम्पादन समितिले सरकारले गति बढाउनुपर्यो भनेर भन्नेछ । कार्य सम्पादन समितिको बैठकले सरकारलाई सजग गराउने, सरकारलाई ध्यानाकर्षण गराउने, सरकारलाई सुझाव पनि दिने कार्य गर्छ ।’
सरकार संविधानअनुसार चलाउने, संविधान र संसदको रक्षा गर्ने, महामारीबाट जनताको जीवन रक्षा गर्ने र निर्वाचन सम्पन्न गराउने सन्दर्भमा सरकारको मुख्य दायित्व रहेको उनको भनाइ छ ।
त्यसैगरी केन्द्रीय कार्यसम्पादन समितिले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशनको सम्बन्धमा पनि टुंगोमा पुगिने उनले बताए । केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीको सबै तहमा कार्यसम्पादन समिति गठन हुने पनि महामन्त्री शर्माले जानकारी दिए ।
‘केन्द्रीय कार्यसम्पादन समितिले केही निर्णय, केही सम्बोधन गर्नुपर्ने, केही व्यवस्थापन गर्नुपर्ने र केही नयाँखालका सांगठनिक परियोजनाको बारेमा दृष्टिकोण बनाएर जिम्मेवारीहरु बाँडफाँट गरेर जानुपर्ने अवस्था छ’, उनले भने, ‘अहिले हामी दुईवटा महामन्त्री भ्रातृ र शुभेच्छुक संस्थाहरुको सन्दर्भमा केही वर्कआउट पनि गरिरहेका छौँ । कार्यसम्पादन समितिको बैठक बसिसकेपछि देशभरि नै कार्यसम्पादन समिति बनाउने क्रम सुरु हुन्छ । सबै तहमा कार्यसम्पादन समितिहरु गठन हुन्छन् ।’
कांग्रेसको यसअघि भर्चुअल रुपमा बसेको केन्द्रीय कार्य समिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो ।