पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २०५ र पाँच हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ४३२ गरी ३ हजार ६३७ जनामासंक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा सात हजार ७५५ जना डिस्चार्ज भएका छन् ।
बुधबार संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७६४ पुगेको छ ।
हाल देशभर ६९ हजार २९१ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
यस्तै काठमाडौं उपत्यकामा ११२३ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा १७० संंक्रमित थपिएका हुन् ।
२१ जनामा ओमिक्रोन पुष्टि
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ नमुनाको परीक्षण गर्दा २१ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रका अनुसार देशभरबाट संकलन गरेर ल्याएका २४ नमुनाको निज सिक्विन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टि भएको हो ।
थप तीन जनामा भने डेल्टा भेरियन्ट पुष्टि भएको उनको भनाइ छ । यो तथ्यले देशका सातै प्रदेशमा ओमिक्रोन फैलिएको पुष्टि भएको उनले बताइन् ।