झन्डै एक करोड रुपैयाँ बराबरको सुन र पाँच वटा आइफोनसहित ३ जना पक्राउ परेका छन् ।
बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका तीन जनाले अवैध रूपमा ल्याएको ९९ लाख २९ हजार ६ सय रुपैयाँ बराबरको ११ सय ५५ ग्राम सुन र पाँच वटा मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।
सो क्रममा पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोसीका दावा छिरिङ शेर्पा एक्लैले मलद्वारसहित शरीरका विभिन्न भागमा लुकाएर एक किलो ५५ ग्राम सुन ल्याएका थिए । उक्त सुनको मूल्य ८३ लाख ३९ हजार २४७.५ रुपैयाँ बराबर रहेको छ ।
युएईबाट आएका शेर्पाको मलद्वारबाट एक केजी सुन बरामद गरिएको हो । शेर्पाले अर्ध ठोस बनाएर सुनका तीन वटा पोका मलद्वारमा लुकाएर ल्याएका थिए । हिँडाइ असहज देखेपछि प्रहरीले आशंका गरेर शेर्पाको पिछा गरेको थियो ।
यस्तै रौहतटका सुनीलकुमार शाह र नवराज परियार पनि पक्राउ परेका छन् ।
दुबईबाट हिमालयन एयरमा काठमाडौं आएका शाहको साथबाट ६ लाख ४० हजार बराबरको आइफोन १३ प्रो म्याक्स ४ वटा आइफोन र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको ५० ग्राम तौलको सुनको बेरुवा औँठी र सिक्री बरामद भएको छ ।
दुबईबाट हिमालयन एयरबाट बुधबार काठमाडौं आएका मकवानपुरका २८ वर्षीय परियारको साथबाट एक लाख ६० हजार बराबरको एउटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको दुइटा बेरूवा औंठी ५० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्न कार्यालयले बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ ।