राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले चुनाव घोषणाको मितिसम्म आफूले राख्दै आएको माग पूरा हुनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा बोलाएको आफूपक्षीय भेलामा उनले सो कुरा बताएका हुन् । भेलामा सहभागी थापा निकट राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाका अनुसार थापाले विगतदेखि राख्दै आएको मागको सुनुवाइ नभइरहेको र माग सम्बोधन नभए नयाँ पार्टी खोल्नेसम्मको अवस्था आउनेछ ।
यसका लागि आफू निकट पार्टीका नेता, कार्यकर्तामा सहयोगको लागि आह्वान पनि गरेको उनको भनाइ छ ।
बर्तौलाका अनुसार मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेपबारे छानबिन गर्न दुई पटक गरिएको ध्यानाकर्षणप्रति अध्यक्ष राजेन्द्र लिङ्देन गम्भीर नभएकाले अब विकल्प खोज्ने बिन्दुमा पुगेको थापाले बताएका हुन् ।
चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा भएको भेलामा राप्रपाका थापा पक्षधर पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता थियो । उपाध्यक्षहरू ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, रोशन कार्की तथा महामन्त्री कुन्ती शाही भेलामा उपस्थित भएका थिए ।
पछिल्लो महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि थापाले यसमा निर्मल निवासको हस्तक्षेप भएको बताउँदै आएका छन् । यी विषयमा पार्टीमा छानविन हुनुपर्ने माग थापाको छ ।