संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको उडान सुरक्षा सूचीमा रहेको नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन् ।
मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरे ।
मन्त्री आलेले भने, ‘नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न र उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ ।’ उनले नागरिक उड्डयन क्षेत्रका अलावा संस्कृति तथा पर्यटन क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि इयुसँग नेपालले सहकार्य गर्न चाहेको धारणा पनि राखे ।