राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै थापाले भारी मन तथा पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् । उनले पार्टीमा आफ्ना माग सुनुवाइ नभएपछि पार्टीबाट अलग हुने अप्रिय निर्णय लिएको बताएका छन् ।
उनले भनेका छन्, ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी राजनीतिक जीवन पार्टीभित्रै बिताउने र रमाउने चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नभएपछि अप्रिय निर्णय गर्न बाध्य हुँ ।’
उक्त निर्णयलाई अध्यक्ष लिङ्देनले अनपेक्षित, र दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।
हार अनि विवाद
गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले चलखेल गरेर आफूलाई हराएको आरोप लगाउँदै आएका छन् । जसको छानविन हुनुपर्ने माग थापाले गर्दै आएका थिए ।
तर, त्यसमा अध्यक्ष राजेन्द्र लिङ्देनले चासो नदिएको उनको आरोप छ ।
सोमबार काठमाडौंमा आफू पक्षीय भेला गर्दै थापाले स्थानीय तहको चुनाव घोषणाको मितिसम्म आफूले राख्दै आएको माग पूरा हुनुपर्ने बताएका थिए ।
सरकारले सोमबार नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि थापाले मंगलबार पार्टी छोडेका हुन् ।
राप्रपाबाट अलग भएको घोषणा गरेका थापा नयाँ पार्टी बनाउने अन्तिम चरणमा छन् ।