नेपाल र संयुक्त राज्य अमेरिकाबीच भएको मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टलाई लिएर सत्ता गठबन्धनभित्रै मतभेद चुलिएका बेला सरकारको अनुरोधपछि दोस्रो पटक संसद्को बैठकको मिति पर सारिएको छ ।
बुधवारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सरकारको अनुरोधमा फागुन २ गतेसम्मका लागि सरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
यसअघि कोभिड–१९ सङ्क्रमणको जोखिम देखाउँदै माघ १६ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक २६ गतेसम्मका लागि स्थगित भएको थियो ।
प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीबारे छलफल गर्न बुधवार कार्य व्यवस्था परामर्श समितिको बैठक डाक्ने विवरण मंगलवार अपराह्न आएका थिए । तर साँझ प्रतिनिधिसभाको बैठक स्थगित गरिएको जानकारी गराइएको हो ।
मङ्गलवार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्नीप्रसाद सापकोटासँग छलफल गरेका थिए ।
उक्त बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहितका विषयमा छलफल भएको बताइएको छ । तर साँझ कानुनमन्त्रीले सभामुख सापकोटालाई टेलिफोन गरी बैठक सार्न भनेको बुझिएको छ ।
संसद् सचिवालयका प्रवक्ता पाण्डे भने, ‘अहिले एजेन्डाहरू पनि खासै महत्त्वपूर्ण नभएको भन्दै सरकारले अनुरोध गरेपछि भोलिको बैठक सभामुख ज्यूसँगको परामर्शमा फागुन २ गतेसम्मका लागि सरेको छ।’