जनमत पार्टीले निर्वाचन आयोगमा दर्ता भई अध्यावधिक भएका सबै दलहरुलाई आफ्नो पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने व्यवस्था मिलाउन माग गरेको छ ।
पार्टी महासचिव चन्दन कुमार सिंहले आज प्रमुख निर्वाचन अधिकृत दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै आयोगमा अध्यावधीक भएका दलहरुलाई उनिहरुलाई प्रदान गरिएको चुनाव चिन्ह दिन माग गरेका हुन् ।
यसअघी निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनितिक दलहरुलाई मात्रै स्थानिय निकाय निर्वाचनमा उसको चुनाव चिन्ह प्रदान गर्ने कार्यबिधि बनाएको छ ।
मान्यता नपाएका दलहरुलाई स्वतन्त्र उम्मेदवार सरह उम्मेदवारी दिनुपर्ने प्रावधान आयोगले गरेको छ ।
जनमत पार्टीसंगै राष्ट्रिय दलको मान्यता नपाएका दलहरुले समेत आयोगको उक्त निर्णको बिरोध गरिरहेका छन् ।
आयोगका प्रमुख थपलियालाई ज्ञापनपत्र बुझाउँदै महासचिव सिंहले निवाएचन आयोगमा दल दर्ता भएर चुनाव चिन्ह लिईसकेका दललाई निर्वाचनमा स्वतन्त्र उम्मेदवार सरहको मान्यता दिनु न्यायपुर्ण नभएको बताए ।
‘आयोगमा दर्ता भईसकेको दल पुर्ण रुपमा आधिकारिक संगठन हुन्छ, त्यसको बिधान, पहिचान र चिन्ह निर्वाचन आयोगले नै प्रमाणित गर्ने गरेको छ’, महासचिव सिंहले भने– आधिकारिक दलका उम्मेदवारलाई निर्वाचनमा स्वतन्त्र उम्मेदवारको मान्यता दिनु कतिको उचित छ ?’
जनमत पार्टीले आयोगलाई उक्त प्रावधानलाई सच्याउन यसअघी समेत माग गरिसको छ ।