सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेट वार्ता भएको छ ।
बिहीबार भेटका लागि कोइराला माओवादी अध्यक्ष प्रचण्डको निजी निवास खुमालटार पुगेका थिए । सो क्रममा उनीहरुबीच स्थानीय तहको निर्वाचन, चुनावी गठबन्धन, संसद सुचारु, लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
कांग्रेस नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार भेटमा प्रचण्डले चुनावी गठबन्धनको प्रस्ताव गरेका थिए । ‘अहिलेको सत्ता गठबन्धन दलहरूकैबीच चुनावी गठबन्धन पनि गरौँ भनेर छलफल भइरहेको छ, हामीहरूबीच गठबन्धन गर्दा सबैलाई फाइदा छ । तपाईं निर्णय गर्ने ठाउँमा हुनुहुन्न । तर, निर्णय प्रभावित गर्ने ठाउँमा हुनुहुन्छ,’ दाहालले भनेका थिए, ‘गठबन्धन गरौँ । तपाईंले चुनावी गठबन्धनको विरोध नगरिदिनुस् ।’
तर, जवाफमा कोइरालाले आगामी चुनावमा कांग्रेस र माओवादीबीच गठबन्धन हुन नसक्ने बताएका थिए । कोइरालाले प्रचण्डलाई भनेका थिए, ‘माओवादीले कांग्रेसलाई भोट हाल्दैन ।’
नेता कोइरालाले एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयले राष्ट्रिय राजनीति नै प्रभावित र विभाजित भएको भन्दै त्यसलाई छिटो टुंगोमा पुर्याउन आग्रह गरे ।
अध्यक्ष प्रचण्डले भने चुनावअघि एमसीसी पास गर्न नसकिने बताए ।