तुलसीपुर उपमहानगरपालिका–५ ङ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो ।
मृतकमध्ये चार पुरुष र एक महिला रहेका छन् । ती मध्ये चार जना बालबालिका रहेका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का १३ वर्षीया सजिता खातुन, १४ वर्षका हसन बकस, १५ वर्षका मसिन बकस, ५ वर्षीय अबिददिन अलि र ४० वर्षीय नजरदिन अलि रहेका छन् । पाँचै जनाको शबलाई राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ ।
आगलागीमा परेकाहरुको उद्दार गर्नका गएका सोही ठाउँका ३८ वर्षिय अमर डाँगी बेहोस छन् ।
उक्त चप्पल गोदाममा आज बिहान २ बजे आगलागी भएको थियो । आगलागी लगत्तै उद्धार गरिएता पनि आगो नियन्त्रण बाहिर गएकाले निसास्सिएर मृत्यु भएको हो । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको थियो । तीमध्ये घरको तेस्रो तलाबाट तीन र चौथो तलाबाट दुई जनाको शव निकालिएको हो ।
पहिलो तलाबाट आगलागी सुरु भएको र तेस्रो तला तथा दोस्रो तलामा सुतेका उनीहरूलाई आगो नियन्त्रणभन्दा बाहिर गएकाले उद्धार गर्न नसकेको बताइएको हो ।
विद्युत्को मिटर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
यसैबीच पाँच जनाको निसास्सिएर मृत्यु भएपछि तुलसीपुर बजार शोकमा डुबेको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज शोकमा एक दिन बजार बन्द गर्ने निर्णय गरेको छ ।
तुलसीपुर घोराही उपमहानगरपालिकाका दमकल, सेना, प्रहरी, स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।