बच्चा अपहरण गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–१० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका–८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका–७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहारपट्टी नगरपालिका–४ घर भएका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् ।
उनीहरुलाई जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय रेल्वेले पक्राउ गरेको हो ।
उक्त पोखरी छेउमा ६ वर्षीया दिदीले ती बालकलाई खेलाइरहेकी थिइन् । प्रारम्भिक अनुसन्धानको क्रममा मनिषा देवीले बालककी दिदीलाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई बच्चा लिई भागेकी थिइन् ।
प्रहरीले जनकपुर उपमहानगरपालिका–१९ बेंगा शिवपुर पिपराढीस्थित हाँस तथा भैसी फारमको पछाडी खेतमा मनिषालाई भाग्दै गरेको अवस्थामा ती बालकसमेत २ वटा बच्चा फेला पारेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।