दीपेन्द्र सिंह ऐरीको जादुय ब्याटिङमा नेपाल चारदेशीय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा विजयी भएको छ। नेपाललाई विजयी बनाउन दीपेन्द्रले अविजित ७३ रन बनाए। ५३ बल खेलेका उनले ८ चौका र एक छक्का प्रहार गरेका थिए।
ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ३ बल अगावै भेट्टाएको थियो। दीपेन्द्रपछि नेपालका लागि अरिफ शेखले २५, अशिफ शेखले १४ र ज्ञानेन्द्र मल्लले १३ रन बनाएका थिए।
ओमानका लागि कलिमुल्लाहले २ र खवर अलीले एक विकेट लिएका थिए।यसअघि ओमानको अल अमेरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो।
आइसिसी पुरुष टी-२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेलेको हो। सिरिजमा आयोजक ओमानसहित, नेपाल, आयरल्यान्ड र युएई सहभागी छन्।