सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माओवादीले जनयुद्धकै कारण मुलुकमा राजनीतिक परिवर्तन संभव भएको बताएका छन् ।
२७ औँ जनयुद्ध दिवसको अवसरमा जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री भट्टले जनयुद्धको जगमा संघीयता, समावेशिताजस्ता ऐतिहासिक उपलब्धी हासिल भएको उनले बताए ।
‘जनयुद्धको महान उपलब्धीनै संघीयता हो । यो सहीद, बेपत्ता, घाइतेले बगाएको रगत, पसिनाको देन हो ।’ उनले भने, ‘माओवादीले जनयुद्ध सुरु नगेको भए मुलुकमा अहिलेको परिवर्तन संभव थिएन, त्यसैले जनयुद्ध सुरु भएको दिन तपाइ–हामी सबैका लागि महत्वपूर्ण र ऐतिहासिक दिन हो ।’
माओवादी आन्दोलनबाट हासिल भइरहेका उपलब्धी सिध्याउने खेल भइरहेको भन्दै मुख्यमन्त्री भट्टले जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीका लागि माओवादीहरु एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको औँल्याए ।