बागमती प्रदेशका ९६.५ प्रतिशत कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
बागमती प्रदेशको तथ्यांकअनुसार आइतबारसम्म प्रदेशका ९६.५ अर्थात् पाँच लाख ४४ हजार सात सय ९२ जना संक्रमणमुक्त भएका हुन् ।
नेपालमा कोरोना संक्रमणको सुरुवातपछि हालसम्म ३६ लाख ९७ हजार २४ जनाको परीक्षण गर्दा १५.३४ प्रतिशत अर्थात् पाँच लाख ६७ हजार दुई सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बागमतीमा हालसम्म कुल संक्रमितमध्ये ०.९३ प्रतिशत अर्थात् पाँच हजार दुई सय ९५ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेशमा १३ जिल्लाका आठ प्रतिशतले कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइसकेका छन् । शनिबारसम्म दुवै डोज खोप लगाएकामध्ये ८.२ प्रतिशतले बुस्टर डोज खोप लगाएको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार हालसम्म १८ वर्षमाथिका ९६ प्रतिशतले पहिलो र ९२.४ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन् । १२ देखि १७ वर्षसम्मका ४३।६ प्रतिशतले पहिलो र २३.०९ प्रतिशतले दोस्रो खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।