नेकपा एमालेले काउन्टर महाअभियोग दर्ता नगर्ने भएको छ ।
सोमबार बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले काउन्टर महाअभियोग दर्ता नगर्ने निर्णय गरेको हो ।
सत्तागठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामिाथि महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चमा अन्य चार न्यायाधीशविरुद्व महाअभियोग दर्ता गर्ने चर्चा थियो ।
तर, आजको बैठकका निर्णय सुनाउँदै एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमालेले काउन्टर महाअभियोग लगाउने चर्चा छ । तर सभामुख, देउवा सरकार गठनका लागि परमादेश जारी गर्ने अन्य चार न्यायाधीशलाई काउन्टर महाअभियोग लगाउँदैनौं ।’
बैठकले प्रधानन्यायाधीश जबरामिाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने कदमको प्रतिवाद गर्ने निर्णय गरेको छ । उनले अगाडि भने, ‘निर्वाचनलाई सार्न खोज्ने, एमसीसी पारित गर्ने, लोकतन्त्रमाथि निरन्तर हमला गर्ने, अदालत अस्थिर बनाउने षड्यन्त्रसहित महाअभियोग प्रस्ताव आएको छ । त्यसको सडक, सदन र अदालतबाट सशक्त प्रतिवाद गर्छौं ।’
एमसीसीमा एमाले पर्ख र हेरको अवस्थामा रहेको र संसदमा पेश भएपछि राष्ट्रिय हितको पक्षमा निर्णय लिने उनले बताए ।
बैठकमा संसदको भनाई सुनेपछि एमाले अध्यक्ष केपी ओलीले आवेश र उत्तेजनामा नभई विवेकपूर्ण निर्णय लिने आश्वासन दिएका थिए ।