प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड बिहीबार बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच एमसीसी, बिहीबार साँझ बस्ने सत्ता गठबन्धनको बैठकका एजेण्डालगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले बताए ।
देउवा र प्रचण्डबीच सहमतिका विकल्पबारे छलफल भएको स्रोतले जनाएको छ ।
यस्तै, आज दिउँसो ३ बजे तय भएको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि साँझ ५ बजेका लागि सरेको छ ।
उक्त बैठकमा एमसीसी सम्झौता टेबल संसदमा टेबल गर्ने विषयमा छलफल हुनेछ । एमसीसीका सम्बन्धमा साझा धारणा र सहमति जुटाउन गठबन्धनको बैठकमा प्रयास हुनेछ ।
त्यसैले आजको गठबन्धनको बैठक एमसीसीको सम्बन्धमा निर्णायक हुन सक्ने अनुमान छ ।
बुधबारको बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल हुने तय थियो । तर, यसको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त भएपछि एमसीसी शुक्रबार बस्ने संसद बैठकमा पेश गर्ने तयारी छ ।
एमसीसीको सत्तारुढ दल कांग्रेस पास गर्नुपर्ने पक्षमा छ भने माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, जनमोर्चा विपक्षमा छन् ।
माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने चेतावनी दिएको छ ।