प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले एमसीसी पारित गर्नुपर्ने बताएका छन् ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)को लोकार्पण कार्यक्रममा देउवा र थापाले एकै स्वरमा पारित गर्नुपर्ने बताएका हुन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘एमसीसी पारित गर्न हामी लागेका छौं । पारित गर्न पार्टीले निर्णय गरिसकेको छ ।
देउवाले पास फेल जे भएपनि एमसीसीबारे संसदले टुंगो लगाउने बताए । एमसीसीको पक्षमा उभिन डराउनुपर्ने कुनै कारण नभएको उनले दाबी छ ।
कार्यक्रममा महामन्त्री थापाले कसले के भन्यो भन्दा पनि कांग्रेस आफ्नो दायित्वबाट च्युत हुन नहुने बताए । उनले भने, ‘क्षणिक लाभका लागि बोली फेर्न हुँदैन । बालुवाटार एक र बालकोट अर्को बोल्ने कांग्रेसले गर्दैन ।’
निर्वाचनलाई मात्रै लक्षित गरेर कांग्रेसले धारणा नबनाउने भन्दै थापाले कम्युनिष्ट पार्टीहरुलाई जस्तो छुट नभएको बताए । ‘नेपालको राष्ट्रहितको निम्ती कांग्रेसलाई जे कुरामा विश्वास छ, त्यो विश्वासका लागि अडिग रहनुपर्छ’, थापाले भने ।
यस्तै उनले कांग्रेस प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताए ।