प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
बिहानै देउवा–प्रचण्ड भेटवार्ता
बिहीबार बिहानै प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच एमसीसी, बिहीबार साँझ बस्ने सत्ता गठबन्धनको बैठकका एजेण्डालगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । देउवा र प्रचण्डबीच सहमतिका विकल्पबारे छलफल भएको स्रोतले जनाएको छ ।
गठबन्धन बैठक
यस्तै, आज दिउँसो ३ बजे तय भएको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि साँझ ५ बजेका लागि सरेको छ ।
उक्त बैठकमा एमसीसी सम्झौता टेबल संसदमा टेबल गर्ने विषयमा छलफल हुनेछ । एमसीसीका सम्बन्धमा साझा धारणा र सहमति जुटाउन गठबन्धनको बैठकमा प्रयास हुनेछ ।
एमसीसी सम्झौता संसद्मा टेबल गर्ने विषयमै गठबन्धनभित्र विवाद छ । त्यसैले आजको गठबन्धनको बैठक एमसीसीको सम्बन्धमा निर्णायक हुन सक्ने अनुमान छ ।
बुधबारको बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल हुने तय थियो । तर, यसको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त भएपछि एमसीसी शुक्रबार बस्ने संसद बैठकमा पेश गर्ने तयारी छ ।
एमसीसीको सत्तारुढ दल कांग्रेस पास गर्नुपर्ने पक्षमा छ भने माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, जनमोर्चा विपक्षमा छन् ।
प्रधानमन्त्री देउवा एमसीसी संसद्मा टेबल गर्न अडिग छन् भने सत्ता घटक नेकपा माओवादी केन्द्रले भने एमसीसीमा सरकारले जबरजस्ती गरे सरकारबाट बाहिरिने र विपक्षमा मतदान गर्ने बताइसकेको छ ।