प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ ।
देउवासँगको भेटका लागि अमेरिकी राजदूत बेरी बुधबार राति सुटुक्क बालुवाटार पुगेका थिए । सो क्रममा देउवा र बेरीबीच एमसीसी पास गर्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले एमसीसीका कारण सत्तागठबन्धनमा आएको दरारदेखि त्यसलाई लिएर भएको सडक प्रदर्शन, सहमति खोज्न आफूले दुई दिनको समय लिएको लगायतका विषयमा राजदूतसँग कुरा गरेका थिए ।
सो क्रममा राजदूतले एमसीसी पास गर्न अमेरिकाले दिएको सीमा देउवालाई सम्झाएका थिए । भेटमा राजदूत बेरीले एमसीसी अनुमोदन प्रक्रियाबारे चासो राखेका थिए । अमेरिकाले फागुन १६ गतेसम्म एमसीसी पारित गर्न समयसीमा दिएको छ ।
प्रधानमन्त्री देउवाले सरकार संसदबाट एमसीसी अनुमोदन गराउने तयारीमा जुटिसकेको जानकारी दिएको बालुवाटार स्रोतले जनाएको छ ।
राजदूत बेरीसँगको भेटपछि प्रधानमन्त्री देउवाले बिहीबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।
त्यसपछि देउवाले २ बजे मन्त्रिपरिषद् बैठक र ५ बजे सत्तागठबन्धनको बैठक बस्दैछ ।
गठबन्धन बैठक
यस्तै, आज दिउँसो ३ बजे तय भएको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि साँझ ५ बजेका लागि सरेको छ ।
उक्त बैठकमा एमसीसी सम्झौता टेबल संसदमा टेबल गर्ने विषयमा छलफल हुनेछ । एमसीसीका सम्बन्धमा साझा धारणा र सहमति जुटाउन गठबन्धनको बैठकमा प्रयास हुनेछ ।
एमसीसी सम्झौता संसद्मा टेबल गर्ने विषयमै गठबन्धनभित्र विवाद छ । त्यसैले आजको गठबन्धनको बैठक एमसीसीको सम्बन्धमा निर्णायक हुन सक्ने अनुमान छ ।
बुधबारको बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल हुने तय थियो । तर, यसको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त भएपछि एमसीसी शुक्रबार बस्ने संसद बैठकमा पेश गर्ने तयारी छ ।
एमसीसीको सत्तारुढ दल कांग्रेस पास गर्नुपर्ने पक्षमा छ भने माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, जनमोर्चा विपक्षमा छन् ।
प्रधानमन्त्री देउवा एमसीसी संसद्मा टेबल गर्न अडिग छन् भने सत्ता घटक नेकपा माओवादी केन्द्रले भने एमसीसीमा सरकारले जबरजस्ती गरे सरकारबाट बाहिरिने र विपक्षमा मतदान गर्ने बताइसकेको छ ।