पछिल्लो एक महिनाको बीचमा खाने तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँसम्म बढेको पाइएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनाको अवधिमा खाने तेलको मूल्य लिटरमा ४० रुपियाँसम्म बढेको छ । भटमास, सनफ्लावर तथा भुटेको तोरीको तेलको तुलनामा काँचो तोरीको तेलको मूल्य धेरै बढेको सङ्घले जनाएको छ ।
सङ्घका अनुसार यसअघि प्रतिलिटर ३३० देखि ३४० रुपियाँसम्म पाइने काँचो तोरीको तेल अहिले लिटरमा ४० रुपियाँ बढेर ३७० रुपियाँ पुगेको छ । यसैगरी भटमासको तेलको मूल्य प्रतिलिटर २४० रुपियाँ, सूर्यमुखी तेलको २६० र तोरीको तेल (भुटेको)को ३४५ रुपियाँ पुगेको छ ।
उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढ्यो भन्दै तेल उद्योगीले अनावश्यक मूल्य बढाउँदा सरकार रमिते बनेको आरोप लगाए ।
“अहिले तेलको मूल्य कार्टोनमा १०० देखि १५० रुपियाँसम्म बढेको छ । अहिले उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण वस्तुको मूल्य बढेको छ । बजार अनुगमन र नियन्त्रण गर्ने नियामक निकाय नै लामो समयदेखि नेतृत्वविहीन बन्दासमेत सरकारले ध्यान दिएको छैन । सरकार नै मूल्य बढाउने पक्षमा भएकोजस्तो देखिन्छ,” उनले भने ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको अस्वाभाविक मूल्य बढाउने उद्योगको विवरण मागेर अध्ययन सुरु गरेको छ । पछिल्लो पटक खाने तेलको अस्वाभाविक मूल्य बढेको गुनासो आएपछि विभागले उद्योगीसँग विवरणमा माग गरेर अध्ययन थालेको जनाएको छ ।
विभागका निर्देशक हरि पङ्गेनीले खाने तेलको मूल्य बढेको धेरै गुनासो आएपछि केही उद्योगको अध्ययन गर्दा ३–४ प्रतिशत मूल्य बढेको देखिएको बताए ।
निर्देशक पङ्गेनीका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेपछि अधिकांश उद्योगीले खाने तेलको मूल्य बढाउने गरेका छन् ।