नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्र हितमा भएको बताएका छन् ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ तनहुँले दमौलीमा गरेको स्थानीय निर्वाचन तथा विकास केन्द्रीत अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले विकास नचाहनेले एमसीसीको विरोध गरेको पौडेलले आरोप लगाए ।
एमसीसीमा नेपालको स्वाभिमानलाई आँच पुग्ने कुरा उल्लेख नभएको उनको दाबी छ । अनुदानको गलत प्रयोग हुनबाट रोक्न सडक र बिजुलीमा केन्द्रित गरिएको उनको भनाइ छ ।
एमसीसी पारित गर्न सबै लाग्नुपर्नेमा पौडेलको जोड थियो । उनले बुझेर मात्रै एमसीसीको विरुद्धमा लाग्न विभिन्न पार्टीका नेता र कार्यकर्तालाई आग्रहसमेत गरे । एमसीसीका बारेमा अध्ययन गरेर मात्रै आन्दोलन गर्न विभिन्न पार्टीका नेतालाई पौडेलले आग्रह गरे ।
सरकारको कार्य संचालन संयन्त्रका संयोजकसमेत रहेका वरिष्ठ पौडेलले सत्ता साझेदार गठबन्धनमा रहेका दलका नेतासँग आफूले त्यस बारेमा स्पष्ट पारेको समेत बताए ।
आगामी चुनावसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने पौडेलले बताए । आउँदो चुनावमा कांग्रेसले जित्ने ठाउँमा आफैं लडनुपर्ने र कमजोर मानिसएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्नुपर्ने पौडेलले बताए ।