गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले एक नेपाली महिलालाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ ।
रोजगारीको सिलसिलामा कुवेत पुगेर काम सकेर फर्किने क्रममा कम्पनीकै सवारी दुर्घटनामा परेकी झापाकी उमा पोर्तेल खाती उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले जानकारी दिए ।
दुर्घटनामा परि छातीदेखि तलको भाग नचल्ने भई करिब २५ महिनादेखि हस्पिटलको शैयामा छटपटाउँदै उपचार गराइरहेकी उमालाई एनआरएनए कुवेत, त्यहाँस्थित नेपाली दूतावास र उनी कार्यरत कम्पनीका म्यानेजर होमनाथ गिरीको संयुक्त पहलमा बिहीबार नेपाल पठाइएको हो ।
उनलाई जीवन दिन नसके पनि एउटा सहाराको रूपमा एक व्हील चेयर सहयोग स्वरूप उपलब्ध गराइएको एनआरएनएले जनाएको छ। उनलाई काठमाडौँमा एनआरएनएका स्वयंसेवकले रिसिभ गरेका छन् ।