सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक १० बजे बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन नसकेपछि पटक पटक बसेका बैठक निष्कर्षविहीन भएपछि आज हुने बैठक निर्णायक हुने नेताहरुले बताएका छन्।
यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन।
एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र सरकारबाट बाहिरिन तयार रहेको निर्णय गरेको छ भने नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अनुमोदनमा सहमति नजनाउने तर संसदमा टेबुल गरेर छलफल गर्न भने विरोध नगर्ने निष्कर्ष निकालेको छ।
एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटिको बैठकले एमसीसी टेबुल गर्न अवरोध नगर्ने तर यथास्थितिमा एमसीसी अनुमोदन गर्न भने नसक्ने निष्कर्ष निकालेको छ । आज नै दिउसो १ बजे संघीय संसद्को प्रतिनिधिसभा बैठक बस्दैछ।