सरकारले एमसीसी परियोजना संसदमा पेश गर्ने भएको छ ।
सत्ता गठबन्धनको आइतबार बसेको बैठकले एमसीसी परियोजना संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले अब सडकमा नभएर संसदमा गहन छलफल भएर एमसीसीबारे निष्कर्षमा पुगिने बताए ।
कार्कीले भने,‘‘एमसीसी आज सार्वभौम संसदमा टेबुल हुन्छ । त्यसपछि सडकमा होइन, सदनमा गहनरुपमा छलफल भएर निष्कर्षमा पुग्छ । जे–जे प्रश्न छन्, त्यसमा सार्वभौम संसदमा सांसदले छलफल गर्नुहुन्छ र निष्कर्षमा पुगिन्छ ।’
संसद बैठक आज दिउँसो १ बजे बस्दैछ ।
एमसीसीलाई लिएर गठबन्धनमा लामो समयदेखि विवाद थियो । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै अनुमोदन हुनुपर्ने पक्षमा छ । गठबन्धनको नेकपा माओवादी केन्द्र एमसीसीमा राष्ट्रिय सहमति जुटाउनुपर्ने र नेकपा एस संशोधन नगरेर पास गर्न नसकिने पक्षमा छन् ।