सरकारले एमसीसी परियोजना संसदमा पेश गर्ने भएको छ ।
सत्ता गठबन्धनको आइतबार बसेको बैठकले एमसीसी परियोजना संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले अब सडकमा नभएर संसदमा गहन छलफल भएर एमसीसीबारे निष्कर्षमा पुगिने बताए ।
कार्कीले एमसीसी संसदमा पेश गर्नेबारे सत्ता गठबन्धनको बैठकमा सहमति भएको बताएपनि उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच विवाद भएको देखिएको छ ।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनी हाल लामो समयदेखि सदन अबरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने बताएका थिए ।
त्यस्तै, प्रचण्डले प्रधानमन्त्री देउवालाई यदी तपाईं एमसीसी टेबल गरि छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गरेका थिए । तर प्रधानमन्त्री देउवाले टेबुल गरेर प्रक्रियामा लैजाने अडान राखेका थिए ।
संसद बैठक आज दिउँसो १ बजे बस्दैछ । एमसीसीलाई लिएर गठबन्धनमा लामो समयदेखि विवाद थियो । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै अनुमोदन हुनुपर्ने पक्षमा छ ।
गठबन्धनको नेकपा माओवादी केन्द्र एमसीसीमा राष्ट्रिय सहमति जुटाउनुपर्ने र नेकपा एस संशोधन नगरेर पास गर्न नसकिने पक्षमा छन् । माओवादीले जबरजस्ती एमसीसी संसदमा पेश गरिए सरकार छाड्ने चेतावनी दिइसकेको छ ।