दुबै मृगौला फेल भई कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन नसकेका शिक्षकको ज्यान जोगाउन स्थानिय युवाहरुले सराहनिय पहल गर्दै लाखौं रकम जम्मा गरी पिडितलाई हस्तान्तरण गरेका छन् ।
बाराको महागढिमाई नगरपालीका वडा नं. १ घर भएका शिक्षक श्रीनिवास प्रसाद साहलाई स्थानिय युवाहरुले उपचारका लागि ८ लाख ३७ हजार रुपैयाँ जुटाईदिएका हुन् ।
स्थानिय युवाहरुको संस्था महागढिमाई पाउण्डेशनले ‘शिक्षक श्रीनिवास प्रसाद साह बचाउ अभियान’ सञ्चालन गरी त्यति रकम संकलन गरेका हुन् ।
जटिल रोगबाट पिडित भई निम्न आर्थिक अवस्थाका कारण उपचार गराउन नसकेका शिक्षक साहको सहयोगका लागि फाउण्डेशन र महागढिमाई लायन्स क्लबले संयुक्त रुपमा अभियान थालेको क्लबका सदस्य मिथिलेश सरार्फले जनाए ।
आर्थिक सहयोग संकलन अभियानमा देश–बिदेशका नागरिकहरुले सहयोग गरेको सरार्फले जनाए । शिक्षक साहको उपचारका लागि स्थानिय महागढिमाई नगरपालिकाले समेत २ लाख रुपैयाँ सहयोग गरेको हो ।
संकलन गरिएको ८ लाख ३७ हजार ६ सय ७० रुपैयाँ शनिवार एक कार्यक्रमको आयोजना गरी पिडित शिक्षक साहलाई हस्तान्तरण गरिएको सरार्फले बताए ।
शिक्षक साहले दुबै मृगौला फेल भएपछी नियमित डायलोसिस गराईराखेका छन् । चिकित्सकहरुले ‘किडनी ट्रान्सप्लान्ट’ गनुपर्ने भनेपछी बेसहारा भएपछी युवाहरुले सहयोग जुटाईदिएका हुन् ।