सुदूरपश्चिम प्रदेशमा संक्रिय कोरोना सङ्क्रमितको संख्यामा कमी आएको छ । कोरोना सङ्क्रमण दर घटेपछि सक्रिय सङ्क्रमितको संख्यामा कमी आएको हो ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयको आइतबारको तथ्याङ्क अनुसार अब यो प्रदेशमा एक हजार १३ जनामात्रै सक्रिय सङ्क्रमित रहेका छन् । यो प्रदेशमा दार्चुला शून्य सक्रिय सङ्क्रमिततर्फ उन्मुख भएको छ । सो जिल्लामा पाँच जनामात्रै सक्रिय संक्रमित रहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, डोटीमा १८ जना, बझाङमा २० जना, अछाममा २१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।यस्तै, डडेल्धुरामा ४९, बाजुरामा ५३, बैतडीमा ५४, कञ्चनपुरमा १६२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कैलालीमा भने सबैभन्दा बढी ६३१ जना सक्रिय सङ्क्रमित रहेको निर्देशनालयले जनाएको छ ।
यसैबीच, आइतबार प्रदेशभरि ३१ जना संक्रमित थपिएका छन् । एक हजार २६४ जनाको परीक्षण गर्दा ३१ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । आइतबार कोरोना पुष्टि भएका व्यक्तिमध्ये १५ जना सोही दिन नै भारतबाट फर्किएका व्यक्ति हुन ।
झुलाघाटबाट फर्केका १०, गड्डाचौकीबाट फर्केका चार र त्रिनगर–गौरीफन्टा नाकाबाट फर्केका एक जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो संगै सुदूरपश्चिममा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ५९ हजार ४१२ पुगेको छ । भने, सङ्क्रमण पुष्टि भएकामध्ये ६३२ जनाले ज्यान गुमाएका छन् ।