प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारले पेस गरेको मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता पेस भएको घटनाप्रति नेकपा माओवादी केन्द्रले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
माओवादी प्रवक्ता कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धनमा आफ्नो पार्टीको तर्फबाट स्पष्ट रुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले विवाद र विरोधका बीच जबर्जस्ती एमसिसी सम्झौता अघि बढाउन खोजेको आरोप लगाएका छन् ।
यससम्बन्धमा आफ्नो पार्टीले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरेको उनले जनाएका छन् ।
आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण आन्दोलनकारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारको उचित प्रबन्ध तथा उपचार खर्च व्यहोर्न पनि सरकारसँग जोडदार माग गरिएको छ ।