प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब २ बजेतिर स्थगित गरिएको हो । संसद् बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग सहमति गर्न भोलिसम्मको समय मागेपछि सभामुख अग्नि सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे छलफल हुने कार्यसूची थियो ।
एमसीसीबारे संसदमा छलफल हुने तय भएपछि बानेश्वरमा विरोध प्रदर्शन सुरु भएको थियो । उक्त प्रदर्शन अहिले पनि जारी छ ।
गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा पेश गरेका थिए ।
विवाद
एमसीसीका बारेमा सत्ता साझेदार दलहरुबीच विवाद कायमै छ । सत्ता साझेदार दलहरुबीच एमसीसीमा सहमति नहुँदा बैठक स्थगित भएको बताइएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी पास गर्ने रणनीतिमा भए पनि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म एमसीसीको विपक्षमा रहेको जनाएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने औपचारिकरुपमै सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने अर्को सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टीले एमसिसीबारे औपचारिक धारणा बनाएको छैन ।