युक्रेनको पश्चिमोत्तर सहर सुमीको एउटा सडकमा रुसी र युक्रेनी सैनिकहरूबीच गोली हानाहान भइरहेको भनिएको एउटा भिडिओ युक्रेनको सेनाले सार्वजनिक गरेको छ ।
रुसी सीमादेखि ३० किलोमिटर टाढा पर्ने क्षेत्रीय राजधानी सुमीको जनसङ्ख्या दुई लाख ६० हजारभन्दा बढी छ । स्थानीय प्रशासकका अनुसार रुसी सेनाको एउटा ठूलो लस्कर सुमीको पश्चिमतिरबाट राजधानी किएभतर्फ बढिरहेको छ ।
त्यसको नजिकै अवस्थित कोनोटोप सहरलाई पनि रुसी फौजले घेरा हालेको छ ।
रुसले दोस्रो दिन आक्रमण जारी राखिरहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गरेका छन् । सो क्रममा उनले रुसले शुक्रवार सखारै थुप्रै आक्रमणहरू गरेको पुष्टि गरेका छन् ।
जेलेन्स्कीले युक्रेन र रुस दुवैमा युद्धविरामका लागि आफूले अपील गरिरहेको बताएका छन् । ‘यो द्वन्द्व र अतिक्रमण अन्त्यबारे ढिलो वा चाँडो रुसले हामीसँग कुरा गर्नुपर्ने हुन्छ’, उनले भने, ‘जति छिटो संवाद शुरू हुन्छ रुसलाई त्यति कम क्षति हुन्छ ।’
आक्रमण नरोकिएसम्म आफूहरूले देशको रक्षा गरिरहने पनि उनले बताए ।