आज दिउँसो १ बजे बोलाइएको बैठक फागुन १५ गतेसम्मका लागि स्थगित भएको छ ।
सरकारले गृहकार्य नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित भएको हो ।
आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको थियो । अब प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।
बिहीबारको बैठक पनि सरकारको आग्रहमा स्थगित भएको थियो ।
एमसीसी तनाव
एमसीसी पास गर्न सत्तारुढ दल माओवादी, नेकपा एसले साथ नदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमालेसँग नजिकिएका छन् । उनी सत्ता गठबन्धन तोडेरै भए पनि एमसीसी पास गर्ने मनस्थितिमा देखिएका छन् ।
तर, एमालेले एमसीसी पास गर्न सत्ता गठबन्धन टुट्नुपर्ने, सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने तथा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने शर्त अघि सारेपछि देउवा समस्यामा परेका छन् ।
बिहीबार कांग्रेस–एमाले तथा एमाले–माओवादीका नेताबीच विभिन्न चरणमा छलफल भएको छ । तर, निष्कर्ष निस्किएको छैन ।
विवाद
गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा पेश गरेका थिए ।
तर, एमसीसीका बारेमा सत्ता साझेदार दलहरुबीच विवाद छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी पास गर्ने रणनीतिमा भए पनि सत्ता साझेदार दल विपक्षमा छन् ।